काठमाडौँ - म्याग्दीको रघुगंगा गाउँपालिका –३ मा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला सेवा सुरुआत गरिएको छ।
गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम, चिमखोला र कुइनेवासीलाई लक्षित सेवा सञ्चालनमा ल्याएको हो। सो प्रयोगशालाबाट रगत, पिसाव, खकार कोरोना एन्टिजेन, एसआईभी, हेपाटाइटिसको परीक्षण गरिने चिकित्सक डा. सन्तोष बोहोराले जानकारी दिए। “रगत र पिसाव परिक्षण गरेर रोग पहिचान र उपचारमा सहज भएको छ,” उनले भने, “प्रयोगशाला सञ्चालन गर्न गाउँपालिकाले छुट्टै जनशक्ति व्यवस्थापन गरेको छ।” यसअघि प्रयोगशालाको सेवाका लागि सदरमुकाम बेनी जाने गरेका थिए। सदरमुकाम जान आउन लाग्ने समय र खर्चको बचत हुने स्थानीय रमेश सिंह ठकुरीले बताए।
पिप्लेसंगै पाखापानीमा प्रयोगशाला सेवा यसै बर्षमा सुचारु गर्ने गरी सामान र जनशक्ति व्यवस्थापन गरिसकेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। “पिप्लेमा अस्पताल बनाउनका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरेका छौँ,” उनले भने, “एक्सरे सेवा संचालन गर्नका लागि भवन निर्माण भइरहेको छ।” अध्यक्ष भण्डारीले आठ वडाका स्वास्थ्य चौकी बाहेक अपायक पर्ने बस्तीमा थप आठवटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको जानकारी दिए।
गाउँपालिकाभित्र थप भएको सेवाहरुलाई जनतामैत्री बनाउन जनप्रतिनिधि, कर्मचारी, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, लगायत सामाजिक ब्यक्तित्वले प्रचारप्रसार र एकअर्कालाई जानकारी गराएर प्रयोगशाला सेवा प्रभावकारी रूपमा संचालन गराउनमा सहयोग गर्न आग्रह गरेका थिए।