काठमाडौँ - इंग्लिस क्लब आर्सनल युरोपा कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा ज्युरिचलाई १-० ले पराजित गर्दै आर्सनल समूह ए को विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो। आर्सनलका लागि काएरन टिर्नेले गोल गरेका थिए।
आर्सनलले ६ खेलबाट १५ अंक जोडेको छ। बोडो ग्लिम्टलाई २-१ ले पराजित गरेको पिएसभी आइन्डहो भने १३ अंक जोडेर दोस्रो स्थानमा रह्यो। पिएसभिले अब युरोपा लिगको नकआउट चरणमा प्रवेशका लागि प्लेअफ खेल्नुपर्नेछ।
यस्तै अर्को इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपा लिगमा समूहको अन्तिम खेलमा स्पानिस क्लब रियल सोसिडाडलाई १-० ले हरायो। जितका बाबजुत पनि युनाइटेड समूह ‘ई’ को विजेता भने बन्न सकेन र सिधै नकआउट चरणमा पुग्ने अवसर गुमायो। युनाइटेड र सोसिडाडको समान १५ अंक भएपनि गोल अन्तर अघि रहँदै सोसिडाड अन्तिम १६ मा प्रवेश गर्यो। अब युनाइटेडले भने अन्तिम १६ मा प्रवेश पाउनका लागि प्लेअफ खेल्नुपर्नेछ।
युरोपा लिगमा ८ समूहका समूह विजेताहरु सिधै अन्तिम १६ मा प्रवेश गरेका छन्। ८ समूहका उपविजेताले भने युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा तेस्रो हुँदै युरोपा लिगमा घटुवा भएका ८ टिमसँग प्लेअफ खेल्नुपर्नेछ। त्यसबाट विजेता टिम युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्ने छन्।