काठमाडौँ - साबा महिला बास्केटबल च्याम्पिनयसिपको रजत पदक विजेता नेपाली टोली शनिबार राती स्वदेश आइपुग्ने भएको छ। माल्दिभ्समा बिहीबार सम्पन्न साबा च्याम्पिनसिपमा श्रीलंका विजेता बन्दा नेपाल दोस्रो आयोजक माल्दिभ्स तेस्रो र भुटान तालिकाको पुछारमा रहेको थियो।
३ वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि महिला टोली पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि निस्केको थियो। विभिन्न कठिनाईका वावजुद टोलीको प्रदर्शनबाट आफूहरु सन्तुष्ट रहेको कप्तान सदिना श्रेष्ठले बताइन्।
‘हामीले यो पटक यसअघि भन्दा निकै कठिनाईका साथ अभ्यास गरेका थियौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल खेल्नुअघि आफै सफा गरेर खेल्नु पर्ने अवस्था थियो,’ उनले भनिन्, ‘हामीले हरेक दिन केहि न केहि बाधाको सामना गर्नुपर्यो। त्यो अनुभव सुखद छैन। कहिले कुन खेल कहिले कुन खेलको तयारीले सबैलाई बाधा थियो। प्राथमिकताका आधारमा तयारी गर्ने व्यवस्था पनि थिएन। त्यसका वावजुद लामो यात्रा र छोटो तयारीमा पनि यो प्रदर्शनबाट हामी खुसी छौं।’
सदिनाले माल्दिभ्सविरुद्ध अन्तिम १ मिनेटका कारण स्वर्ण पदकबाट बञ्चित हुनुपरेकोमा भने दुःख व्यक्त गरिन्। ‘यात्रा लामो भयो। यहाँ आएपछि पनि आराम गर्ने समय नै भएन। च्याम्पियनसिपको तयारीमा जुट्नु थियो,’ उनले भनिन्, ‘माल्दिभ्ससँगको खेल एकदमै प्रतिस्पर्धात्मक भयो। अन्तिम १ मिनेट सम्हालिन सकेनौं। अलि आत्तिए जस्तो पनि भयो।’
नेपाल महिला साबा च्याम्पियनसिपमा भविष्यमा च्याम्पियन बन्ने सम्भावना रहेको सदिना बताउँछिन्। ‘हामी, श्रीलंका र माल्दिभ्सको स्तर लगभग समान छ। हामी जित्न सक्छौं तर त्यसका लागि तयारीमा बढी जोड दिन पर्छ, उनले थपिन्, ‘यति सबै बाधाका बीच पनि हामी टप फाइट दिन सक्छौं भने जित्न नसक्ने भन्ने छैन।’
माल्दिभ्ससँग ५१-४७ ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ५५-४९ ले र भुटानलाई ६५-२६ ले हराएको थियो।