कास्की – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र नेपाल 'जंगे'बाट 'बुंगे' बनेको टिप्पणी गरेका छन्। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई 'दशा लागेको' र उनीहरु अहिले ढोका कुरेर बस्नुपर्ने अवस्थामा पुगेको पनि ओलीले टिप्पणी गरे। पोखरामा आयोजित पार्टी निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन उनले यस्तो टिप्पणी गरेका हुन्।
“हामीसँग झन्डै दुई तिहाइको सरकार थियो। तर प्रचण्ड र माधव नेपाललाई दशा लाग्यो। सरकार ढालेर गएर अहिले हेर्नुस् त बिचराहरु, ढोकाबाहिर पर्खेर बसेका हुन्छन्।“ ओलीले भने, “भित्रबाट प्रसाद बाँड्न आउँछ कि भनेर। कताका जंगेहरु, कताका बुंगे भए अहिले। बुद्धि बिग्रिएपछि त्यो हुन्छ।“
ओलीले जनादेशको मजाक उडाउने काम भएको पनि बताएका छन्। “जनादेशको मजाक उडाइएको छ। सेटिङमा काम भइरहेको छ।“ उनले भने “केपी ओलीको सरकार ढाल्नु नै पर्छ भनेर अनेक षड्यन्त्र भए। विकासका विरोधीले ढाले। जन निर्वाचित सरकार ढाल्ने काम भयो।“