सुर्नया पुल निर्माणमा ढिलाइ

बैतडी - पाटन बजार जोड्ने मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ। सुर्नया नदीमा बन्न लागेको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल पुल समयमै निर्माण नहुँदा समस्या भएको हो।  

सुर्नया नदीमा २०७१ सालमा पुल निर्माण सुरु भएको हो। पचास मिटर लमो उक्त पुल निर्माण दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो। आठ वर्ष बितिसक्दा पनि पुल निर्माण कार्य सम्पन्न हुनसकेको छैन। लामो समयसम्म पुल निर्माण नहुँदा डैसीली, लदौली, सकार, बाडुलासौँ, पोखरी, गनडा, किम्तोली र उल्लकाका बासिन्दा समस्यामा छन्। ठेकेदारको लापरबाहीले समयमै पुल निर्माण हुन नससकेको स्थानीयको आरोप छ। 

बर्खा लागेसँगै सुर्नयामा पानीको बहाव बढेपछि सो सडक अवरुद्ध हुने गरेको छ। नदीमा पानीको बहाव बढेपछि सकार कैलपालबाट पाटन जोड्ने सडक अवरुद्ध हुने गरेको छ। वर्षात्मा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवतजावत गर्न र खाद्यान्न ढुवानी गर्न समस्या हुने गरेको छ। संघीयता आएपछि प्रदेश सरकारले बनाउने कि संघीय सरकारले बनाउने भन्ने विषयमा अन्यौल हुँदा पुल निर्माणमा ढिलाइ भएको एस के निर्माण सेवाका सञ्चालक मदनमोहन विष्टले बताए। 

रु दुई करोड ९० लाखको लागतमा निर्माण भइरहेको उक्त पुलको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको विष्टले बताए। पछिल्लो समयमा २०८० असार मसान्तमा ठेक्का म्याद थपिएको थियो। विसं २०७९ माघसम्म पुल निर्माण गरिसक्ने विष्टको दाबी छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×