काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले २ हजार शुल्क तिर्नुपर्ने हुन्छ । तर, पार्टीले प्रतिनिधिका लागि खानेबस्ने व्यवस्था गर्ने छैन । प्रतिनिधि स्वयंले आ–आफ्नो खर्च व्यवस्थापन गर्नुपर्ने सर्कुलर माओवादी केन्द्रले गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक परिपत्र गर्दै जारी गर्दै यस्तो निर्देशन गरेका छन् । साथै पार्टीको निर्णय समेटिएको सो परिपत्र जारी गर्दै उनले कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
१६ र १७ मंसिरमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सम्मेलन केन्द्रित विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सबै प्रदेशलाई १८ बुँदे परिपत्र जारी गरेको छ । सम्मेलनका लागि आन्तरिक तयारी तीव्र बनाएको माओवादी केन्द्रले भव्य रूपमा सम्मेलन सम्पन्न गर्ने योजना बनाएको छ ।
पार्टीले राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवं प्रतिनिधिलाई प्रतिनिधि शुल्क २ हजार रुपैयाँ प्रतिव्यक्ति तोकेको छ । साथै सम्मेलनमा सहभागी हुने सबै प्रतिनिधिले खानेबस्नेलगायतका खर्चको व्यवस्थापन आफैं गर्नुपर्ने अग्रिम जानकारी पनि गराएको छ ।
माओवादीले १५ सय संगठित सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ । प्रदेशबाट राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधि’bout प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनोट गर्ने र बाँकी १ हजार ५ सय संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ ।
अध्यक्ष प्रचण्डको परिपत्रमा मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागको बैठक बसी राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि चयन गरेर केन्द्रीय कार्यालयमा नामावली (नवीकृत सदस्यता नम्बरसमेत) पठाउन उल्लेख गरिएको छ ।
त्यस्तै पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनका लागि यसअघि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था परिवर्तन भएको छ । त्यसलाई घटाएर ५ प्रतिशत कायम गरेको माओवादी केन्द्रले जनाएको छ ।
प्रदेशले कम्तीमा १ जना घाइते÷अपांगलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने निर्णय पनि माओवादीले गरेको छ । प्रत्येक प्रदेशले २३ मंसिरभित्र प्रदेश सम्मेलनका प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समितिलाई अनिवार्य बुझाउनुपर्ने माओवादीको सर्कुलरमा उल्लेख छ ।
यसैगरी माओवादी केन्द्रले ८० वटासम्म पालिका भएका प्रदेशमा प्रदेश समिति १ सय ७५ सदस्यीय कायम गर्ने र सोभन्दा बढी पालिका भएका प्रदेशमा प्रत्येक पालिका र दुवै तहका निर्वाचन क्षेत्र संख्याको आधारमा प्रदेश समितिमा १÷१ जना सदस्य थप गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रले ११ देखि १३ पुसमा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै छ । राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले विभिन्न समिति गठन गरेर तयारी तीव्र बनाएको छ ।
माओवादी केन्द्रले विधान परिमार्जन समेत गर्ने भएको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानमा आवश्यक परिमार्जन गर्न स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका यादव रहेको विधान मस्यौदा समिति गठन गरेको छ ।
त्यसैगरी राष्ट्रिय सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न गणेश साह, गिरिराजमणि पोखरेल र शक्तिबहादुर बस्नेत रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।
माओवादीले राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । जसमा डिलाराम आचार्य, नारायण दाहाल, सत्य पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल मुख्य सचिव केन्द्रीय कार्यालय, रामप्रसाद सापकोटा र जगत सिंखडा सदस्य रहेका छन् ।
त्यसैगरी प्रवक्ता कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको माओवादीले जनाएको छ ।
सरकार र पार्टीको कामलाई व्यवस्थित गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा हरिबोल गजुरेल सचिव रहने गरी देव गुरुङ, लीलामणि पोख्रेल र ५ जना मन्त्री सम्मिलित एक समिति गठन गरेको पनि सर्कुलरमा उल्लेख छ ।
यस्तै माओवादीले केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने लेवी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिको नामावली (पार्टी सदस्यता नम्बर समेत उल्लेख गरी) २९ मंसिरसम्ममा अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा पठाइसक्न पनि निर्देशन दिएको समाचार राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।