काठमाडौँ - महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अभिनय रहेको फिल्म ‘महापुरुष’ टिम प्रोमोशनल टुरमा निस्किएको छ। देशका सात सहरमा फिल्मको प्रमोशनल टुर हुँदैछ।
२५ गते मंगलवार पूर्वी सहर बिर्तामोडदेखि फिल्मले प्रोमोशनल टुर शुरू गरेको छ। बुधबार (आज) इटहरी र विराटनगरमा फिल्मको प्रचारप्रसार कार्यक्रम आयोजना हुँदैछ।
दिउँसो ३ बजेदेखि इटहरीस्थित कस्तुरी कलेज मैदान र साँझ ६ बजेदेखि विराटनगरस्थित विराटनगर सेन्ट्रल मलमा कार्यक्रम हुने निर्माण टिमले जानकारी दिएको छ। त्यस्तै, २७ गते हेटौंडा, २८ गते नारायणगढ, २९ गते बुटवल र ३० गते पोखरामा प्रोमोशनल टुर कार्यक्रम आयोजना हुनेछ।
प्रोमोशनल टुरमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित फिल्मका कलाकारहरू राजाराम पौडेल, गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की र गायक निशान भट्टराई लगायत सहभागी रहेका छन्।
बुधवार इटहरी र विराटनगरमा हुने कार्यक्रममा भने निशानबाहेक अन्य कलाकारहरूसँगै गायिका रचना रिमाल सहभागी हुँदैछिन्। प्रदीप भट्टराई लिखित एवं निर्देशित फिल्म तिहार ‘भाइटीका’को भोलिपल्ट अर्थात कात्र्तिक ११ गते प्रदर्शन हुँदैछ।
सामाजिक कथावस्तु र कमेडी जनरामा निर्माण भएको फिल्मको निर्माता म्याक्स दिपेश खत्री हुन् भने कार्यकारी निर्मातामा रविन्द्रसिंह बानियाँ रहेका छन्।