प्रतिनिधिसभा बैठकमा सोमबार आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल आरम्भ हुँदैछ। बैठक बिहान ११ बजे बस्नेछ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची छ।
आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
राष्ट्रियसभामा भने सरकारको उक्त नीति तथा कार्यक्रममाथिको छलफल भने आइतबारबाटै प्रारम्भ भइसकेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो १ : १५ बजेका लागि बोलाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रममाथि ५१ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधिसभामा ३७ र राष्ट्रिय सभामा १४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएको संसद सचिवालयले जनाएको छ।
दुवै सदनबाट वैशाख २८ गते नीति तथा कार्यक्रम पारित गर्ने तय भएको छ।