काठमाडौँ । कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टीले बुधबार काठमाडौँमा आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो मुख्य उद्देश्य ‘सुशासन, समृद्धि र सामाजिक न्याय’ राखेको छ।
पार्टीका केन्द्रीय सदस्य रिमा विश्वकर्माले कार्यक्रममा जानकारी दिँदै पार्टीको नारा “उज्यालो नेपाल, उज्यालो भविष्य, विकास समृद्धि र सामाजिक न्याय हाम्रो लक्ष्य” रहेको बताइन्।
घोषणापत्रमा उल्लेख छ कि वर्तमान संविधानलाई स्वीकार गरिनेछ, तर केही व्यवस्थाहरू संशोधन गरिने छन्। स्थिर सरकार निर्माणका लागि निर्वाचन प्रणाली परिवर्तन, समानुपातिक समावेशी सुनिश्चित गर्नु, प्रदेश र स्थानीय तहको सङ्ख्या पुनरावलोकन गर्ने योजना पनि रहेको छ।
सोही क्रममा प्रदेशमा प्रत्यक्ष मुख्यमन्त्री चयनसहित ५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने र स्थानीय तहको चुनाव गैरदलीय गरिने उल्लेख गरिएको छ। पार्टीले राजनीतिक चेतना, सामाजिक न्याय र पारदर्शितामा आधारित नयाँ युगको शुरुवात गर्ने लक्ष्य राखेको छ।
घोषणा कार्यक्रममा पार्टी संयोजक कुलमान घिसिङ, पूर्वसांसद सुमना श्रेष्ठ र अन्य पदाधिकारीहरू उपस्थित थिए।