काठमाडाैं । कोभिड–१९ का कारण नियमित तथा राष्ट्रिय खोप तालिकालाई असर नपरेको पाइएको छ । शिशु जन्मिनेबित्तिकै बीसीजी लगाइसकेपछि निश्चित हप्तापछि रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, एचआईबी, दादुरा, रुबेलालगायतका खोप लगाइन्छ ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा दैनिक सरदर ८० शिशु जन्मिने गरेका छन् । तीमध्ये सरदर ६० जनाले नियमित खोप लगाउने गरेका छन् । अस्पतालका प्रवक्ता डा. कीर्तिपाल सुवेदीले बालबालिकालाई लगाउने गरिएका नियमित खोपमा कोरोना महामारीले कुनै प्रभाव नपरेको बताउँदै भने, “बीसीजी लगाइसकेपछि अन्य नियमित खोपका लागि कतिपय आमाले प्रसूति गृहमै ल्याउँछन् । कतिपयले नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यचौकीमा गएर नियमित खोप लगाउने गर्छन् । तर, नियमित खोपमा कुनै असर परेको छैन ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नियमित खोप देशभरि सहज रूपमा सञ्चालन भइरहेको बताए । उनले कोरोनाविरुद्धको खोपले नियमित खोपलाई असर नगरेको भन्दै नियमित खोपका लागि प्रणाली स्थापित भइसकेकाले कुनै प्रभाव नपरेको उल्लेख गरे।
एक वर्षमा २२ हजारभन्दा बढी बच्चालाई जन्म दिने गरिएको प्रसूति गृहका निर्देशक डा. अमिरबाबु श्रेष्ठले प्रसूति गृहमा नियमित खोप व्यवस्थित भएकाले कुनै असर नपर्ने बताए । “नियमित खोप लगाउने प्रणाली चुस्त र सहज छ,” उनले थपे, “कोरोनाविरुद्धको खोप अलग पक्ष भएकाले नियमित खोपलाई कुनै असर पार्दैन ।” गोरखापत्र दैनिकमा समाचार छापिएकाे छ ।