सिचुआन भूकम्पमा ७४ को मृत्यु, २६ बेपत्ता

काठमाडौँ - चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

सो भूकम्पमा परेर अझै २६ जना बेपत्ता रहेका छन्। मंगलबार बेलुका ९ बजेसम्म गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको, १४ जना बेपत्ता र १७० जना घाइते भएका बताइएको छ। यान सहरमा मंगलबार अबेरसम्म ३४ जनाको मृत्यु भएको, १२ जना बेपत्ता र ८९ जना घाइते भएका सहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ।

सिचुआन प्रान्तको प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस प्रभावित भएका बताइएको छ। त्यसको नजिकैको सहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले जानकारी गराएका छन्। भूकम्पको केन्द्रबिन्दू सिचुआन प्रान्तको काङदिङ सहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्।

सो भूकम्प १० किलोमिटर गहिराइमा तथा ६‍.८ म्याग्निच्युडको रहेको पनि अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ। भूकम्पका कारण भौतिक संरचनामा पनि क्षति पुगेको छ। भूकम्पले भत्काएकाले यहाँबाट अर्को सहरमा जाने बाटो पनि अवरुद्ध भएको छ। त्यसैगरी मानिसको बसोबास रहेका कैयौं क्षेत्रमा दूरसञ्चारका लाइनहरू काटिएकाले सञ्चार सम्पर्क पनि विच्छेद हुन पुगेको छ।

यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार गएको भूकम्पका पीडित र प्रभावितको उद्धार कार्य चुस्त रुपमा गर्न निर्देशन दिएका छन्। उनले यस कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न र भूकम्पका प्रभावितहरुको उद्धार र राहातको काममा कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×