पर्वत। जिल्ला कारागारमा कैदीबन्दीका लागि पुस्तकालय स्थापना गरिएको छ। लायन्स क्लब अफ गुप्तेश्वरले पुस्तकालय स्थापना गरेको हो। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागारलगायतको समन्वय तथा जिल्लामा सक्रिय लायन्स क्लबको सहकार्यमा पुस्तकालय स्थापना गरिएको हो। क्लबले आफ्नो वार्षिक कार्ययोजनाअन्तर्गत कैदीबन्दीमा सकारात्मक सोच र अध्ययनप्रति रुचि जगाउने उद्देश्यका साथ पुस्तकालय स्थापना गरिएको क्लबका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए। पुस्तकालय स्थापना कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक गभर्नर विशेश्वर आचार्यले क्लबको स्थापनाको मुख्य उद्देश्यलाई मध्यनजर गर्दै कारागारमा पुस्तकालय स्थापना गरिनु गौरवको कुरा भएको बताए। क्लबले करिब रु तीन लाखको लागतमा पुस्तकालय स्थापना गरेको हो। झण्डै रु दुई लाख ५० हजार बराबरका ४५० थान पुस्तक र अन्य फर्निचर सामग्री उपलब्ध गराइएको छ। पुस्तकालय स्थापनाका लागि धेरै सहयोगदाताबाट पुस्तक र फर्निचर सामग्री सौजन्य प्राप्त भएको अध्यक्ष पौडेलले बताए। कारागारमा अहिले ९० भन्दा बढी कैदीबन्दीले जेल जीवन बिताइरहेका छन्।