भदौ १० देखि नवौँ राष्ट्रिय खेलकुदका लागि जिल्लास्तरीय छनोट सुरु हुने

बैतडी - आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट भदौ १० देखि सुरु हुने भएको छ।

बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ १० देखि भदौ १५ सम्म हुने भएको हो।

पहिलो दिन टेबलटेनिस (महिला-पुरुष), बुद्धिचाल,भारत्तोलन पुरुष, कराते, तेक्वान्दो (महिला-पुरुष) छनोट सदरमुकाममा हुनेछ। दोस्रो दिन सदरमुकाममै ब्याडमिन्टन (महिला-पुरुष), उस्सु फुल कन्टयाक्ट कराते (महिला-पुरुष), मेलौली खेल मैदानमा भलिबल (महिला-पुरुष) छनोट भदौ १२ गते हुने जनाइएको छ।

यस्तै, भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी (महिला-पुरुष), एथलेटिक्स (महिला-पुरुष), फुटबल, बक्सिङ (पुरुष), भदौ १४ गते देहिमाडौँ खेल मैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ।

छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका ३२५ खेलाडीले आवेदन भरेका छन्। जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन्।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×