पर्साका अधिकांश जनप्रतिनिधि नयाँ अनुहार

पर्सा - पर्साका अधिकांश स्थानीय तहमा नयाँ अनुहारका जनप्रतिनिधि निर्वाचित भएका छन्। १४ स्थानीय तहमध्ये हालसम्म मतणना सम्पन्न भएको कूल १३ पालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएका हुन्। विसं २०७४ का जनप्रतिनिधिले यस पटक विजयी बन्ने सकेनन्।

जिल्लाको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरिया नगरपालिकाका निवर्तमान नगर प्रमुख दीपनारायण रौनियार दुई हजार ४३३ मतान्तरले निर्वाचनमा पराजित भए। गत निर्वाचनमा नेपाली जनता दलबाट निर्वाचित भएका उनी अहिले नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदका उम्मेदवार बनेका थिए। उनी नेकपा (एमाले) का उम्मेदवार प्रद्युम्नप्रसाद चौहानसँग पराजित भएका हुन्। उनी तत्कालीन सङ्घीय समाजवादी फोरमबाट चुनाव लडेर पराजित भएका थिए।

यसैगरी पर्सागढी नगरपालिकाका निवर्तमान प्रमुख लोकनारायण यादव दुई हजार ८९१ मतको फराकिलो अन्तरले पराजित भए। गत निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका उनी ६७ मतले विजयी भएका थिए। यादवलाई यस पटक एमालेका गोकर्ण पाठकले फराकिलो मतान्तरले पराजित गरे। पाठक छ हजार ६२४ मतका साथ पर्सागढी नगरपालिकाको प्रमुखमा निर्वाचित भए।

यसैगरी पर्साको बहुदरमाई नगरपालिकाका निवर्तमान नगर प्रमुख एवं कांग्रेसका उम्मेदवार नितेन्द्रप्रसाद साह पनि ४८८ मतले पराजित भए। अहिले जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार भई विजयी भएका हुन्। उनी पाँच हजार ५१६ मतका साथ तेस्रो स्थानमा रहँदा छ हजार चार मत पाएर साह नगर प्रमुखमा निर्वाचित भए।

पटेर्वासुगौली गाउँपालिका निवर्तमान अध्यक्ष हरिनारायण चौधरीले पनि हार व्यहोर्नुपर्‍यो। गत निर्वाचनमा ८२ मतले पराजित भएका कांग्रेसका दिनेशकुमार चौधरीले यसपटक एमालेका हरिनारायणलाई दुई हजार मतको फराकिलो मतान्तरले पराजित गरे। हरिनारायण तीन हजार ९४४ मतमै सीमित हुँदा दिनेशले पाँच हजार १४४ मत प्राप्त गरे।

अघिल्लो निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का पदमलाल (पिएल) श्रेष्ठले जितेको ठोरी गाउँपालिकाको अध्यक्षमा यसपटक एमालेका लालबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। ठोरी पर्सा जिल्लामै माओवादी केन्द्रको सबैभन्दा बलियो पकड मानिन्थ्यो। गत निर्वाचनमा पिएलसँग ४३४ मतान्तरले पराजित भएका लालबहादुरले यसपटक पिएललाई ७२० मतान्तरले निर्वाचन जिते।

पर्सामा जिराभवानी गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार निवर्तमान पालिका अध्यक्ष रामप्रित महतो एक हजार २६१ मतको फराकिलो अन्तरले पराजित भए। गत निर्वाचनमा पराजित भएका कांग्रेसका उम्मेदवार महादेवप्रसाद महतो थारूका छोरा अनोज चौधरीसँग रामप्रित पराजित भएका हुन्। अनोजले चार हजार ५६० मत ल्याउँदा रामप्रितले तीन हजार २९९ मत मात्र ल्याए।

यसैगरी बिन्दवासिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं जसपाको तर्फबाट अध्यक्ष पदका उम्मेदवार श्रीलाल साह कानु एक हजार ४६० मतान्तरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमोद तिवारीसँग पराजित भए। तिवारीले दुई हजार २३४ मत पाउँदा कानु ७७४ मतमै सीमित बने। गत निर्वाचनमा कानु कांग्रेसका चन्द्रकिशोरप्रसाद बरैसँग आठ मतले विजयी भएका थिए।

यसैगरी पकाहमैनपुर गाउँपालिकावासी पनि अघिल्लो पटक जसपाबाट निर्वाचित अध्यक्ष विजयकुमार चौरसिया यस पटक निर्वाचनमा हार व्यहोर्नुपर्‍यो। यसअघि १८१ मतले पराजित भएका कांग्रेसका उम्मेदवार सुरेश प्रसादलाई यसपटक निर्वाचनमा विजयी हासिल गरे। सुरेशले चार हजार ६८५ मत पाउँदा निवर्तमान अध्यक्ष चौरसियाले दुई हजार ५२९ मत प्राप्त गरे।

सखुवाप्रसौनी गाउँपालिकामा पनि निवर्तमान अध्यक्ष जसपाका उम्मेदवार प्रदीपकुमार जैसवाल यस पटक पराजित भए। गत निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएका जसवन्त यादवले निवर्तमान अध्यक्ष जैसवाललाई एक हजार ८३१ मतान्तरले पराजित गरे। यादवले छ हजार ४४१ मत पाउँदा जैसवालले चार हजार ८१० मत प्राप्त गरे।

छिपहरमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष मनोजकुमार गुप्ता भने पुनः दोहोरिएर भाग्यमानी बने। जिल्लाका १४ स्थानीय तहमध्ये वडाध्यक्षमा अधिकांश दोहोरिए पनि पालिका प्रमुखमा दोहोरिने एक मात्र भाग्यमानी पालिका अध्यक्षका रूपमा जनप्रतिनिधि हुन्। मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा पनि निवर्तमान नगर प्रमुख विजयकुमार सरावगी पाँच दलीय गठबन्धनबाट जसपाका राजेशमान सिंहभन्दा धेरै पछाडि छन्। ३२ वडामध्ये १५ वडाको गणना हुँदासम्म सरावगी झण्डै १३ हजारभन्दा बढी मतले पछाडि रहेको हुँदा उनी पनि पुनः दोहोरिने अवस्था कमजोर आंकलन गर्न सकिन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×