काठमाडौँ - जोस बट्लर इङ्गल्याण्डको एक दिवसीय र टी-२० क्रिकेट टिमको कप्तान नियुक्त भएका छन्। इङ्गल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले बिहीबार बट्लरलाई कप्तान नियुक्त गरेको हो।
विश्वकप विजेता कप्तान इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेपछि बट्लरले कप्तानीको जिम्मेवारी पाएका हुन्। ३५ वर्षीय मोर्गनले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।
कप्तानमा नियुक्तिपछि बट्लरले सात वर्षसम्म उत्कृष्ट नेतृत्त्व गरेकोमा मोर्गनप्रति कृतज्ञ रहेको बताएका थिए। विकेटकिपर ब्याट्सम्यान बट्लर यसअघि टिमको उपकप्तान रहेका थिए।
३१ वर्षीय बट्लरको कप्तानीमा इङ्गल्याण्डले जुलाईमा भारतविरुद्ध एकदिवसीय र टी-२० श्रृंखला खेल्नेछ।
भारतले पनि आफ्नो टिमको घोषणा गरिसकेको छ। पाँचौं तथा अन्तिम टेष्ट भने आजदेखि शुरु हुँदैछ। यसअघि ४ खेल १० महिनाअघि सकिएको थियो। तर कोरोना महामारीबीच खेल रोकिएको हो।
यसअघिको खेलमा भारत श्रृंखलामा २-१ ले अगाडि रहेको छ। यो श्रृंखला जिते भारतले १५ वर्षपछि इङ्गल्याण्डलाई उसकै भूमिमा हराउने छ। बट्लरको कप्तानीमा इङ्ग्ल्याण्डले पहिलो श्रृङ्खला यही महिना (जुलाई) भारतविरुद्ध खेल्नेछ।