अफगानिस्तानविरुद्धको पहिलो टी-२० मा आयरल्याण्ड विजयी

काठमाडौँ - अफगानिस्तानविरुद्धको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली आयरल्याण्ड ७ विकेटले विजयी भएको छ। गएराति सम्पन्न खेलमा १६९ रनको लक्ष्य आयरल्याण्डले एक बल बाँकी छँदा तीन विकेट गुमाएर भेट्टायो।

उसका लागि कप्तान एन्ड्रयु बलबर्नी तथा लोर्कन टकरले अर्धशतकीय पारी खेले थिए। बलबर्नीले ३८ बलमा ५ चौका र १ छक्कासहित ५१ रन बनाएका थिए।​ टकरले ३२ बलमा ६ चौका र १ छक्कासहित ५०, पउल स्टर्लिङले ३१ तथा अविजित रहेका ह्यारी टेक्टरले २५ र जर्ज डकरेलले १० रन जोडेका थिए।

अफगानिस्तानका लागि मुजीबउर रहमान, कप्तान महम्मद नबी र नविन उल हकले १/१ विकेट लिएका थिए। त्यसअघि बेलफास्टस्थित सिभिल सर्भिस क्रिकेट क्लबमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६८ रन बनाएको थियो।

पाहुना टोलीका लागि उस्मान घनीले अर्धशतकीय पारी खेलेका थिए। ४२ बलको सामना गरेका उनले ६ चौका र २ छक्कासहित ५९ रन बनाएका थिए। इब्राहिम जाद्रनले अविजित २९, रहमानुल्लाह गुर्बाजले २६, नजिबुल्लाह  जाद्रनले १५, हसमतुल्लाह शहिदी र अजमतुल्लाह ओमरजाईले ११/११ रन जोडेका थिए।

आयरल्याण्डका लागि ब्यारी म्याकर्थी ३, जर्ज डकरेलले २ तथा जोस लिटिल र ग्यारेथ डेलानीले १/१ विकेट लिएका थिए। यो जितसँगै आयरल्याण्डले ५  खेलको सिरिजमा १-० को अग्रता लिएको छ। दोस्रो खेल बिहीबार हुनेछ।   

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×