काठमाडौँ - स्पेनिस क्लब बार्सिलोना अहिले प्रि सिजन टुरका लागि अमेरिकामा रहेको छ। इन्टर मियामीविरुद्ध मंगलबार राति भएको खेलमा बार्सिलोनाले ६-० को रवाफिलो जित निकालेको छ।
बार्सिलोनाको प्रभावशाली जितमा पिएरे इमेरिक औवामियाङ, राफिन्हा, अन्सु फाती, पाब्लो गाभी, मेम्फिस डिपाए र औसमाने डेम्वेलेले गोल गरेका थिए। बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान ३-३ गोल गरेको हो।
यसै सिजन बार्सिलोनामा आबद्ध भएका ब्राजिलियन स्टार राफिन्हा डेब्यु खेलमा नै गोल गर्न सफल भएका छन्। २५औं मिनेटमा राफिन्हाले गोल गरेका थिए।
बार्सिलोनाले त्यसअघिनै १९औं मिनेटमा औवामियाङको गोलबाट अग्रता लिएको थियो। ४१औं मिनेटमा अन्सु फातीले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३-० ले अघि रहेको थियो।
बार्सिलोनाका लागि ५५औँ मिनेटमा पाब्लो गाभीले गोल गर्दा ६९औँ मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै टिमलाई ५-० को अग्रता दिलाए। त्यसको एकमिनेट बित्न नपाउँदै औसमान डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई प्रभावशाली जित दिलाएका थिए।