पोखरा - अतिरिक्त समयमा आयोजक हेम्जा युनाइटेडलाई पराजित गर्दै क्यामरुनी क्लब एभिनियर एफसी छैटौं शुभकामना अन्तर्राष्ट्रिय हेम्जा गोल्डकपको च्याम्पियन बनेको छ।
गौरीशंकर खेलमैदानमा आइतबार भएको फाइनलमा हेमजा युनाइटेडलाई ३-१ ले पराजित गर्दै एभिनियर च्याम्पियन बन्न सफल भएको हो। एभिनियरलाई च्याम्पियन बनाउन आनिसे, साङ र विल्लेले १/१ गोल गरेका थिए। हेम्जाका सुशिल राईले १ गोल फर्काएका थिए।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्विएको थियो। अतिरिक्त समयमा एभिनियरले दुई गोल थप्दै च्याम्पियन बन्न सफल भएको हो।
छैटौं मिनेटमा आनिसेले गोल गर्दै एभिनियरलाई सुरुवाती अग्रता दिलाए। विल्लेको कर्नरलाई आनिसेले हेड जाली चुमाएका थिए। ३५औं मिनेटमा सुशील राईले गोल गर्दै हेम्जालाई खेलमा बराबरीमा ल्याएका थिए। एभिनियरका डिफेन्डर र गोलरक्षक कोभास्सी झुक्किदाँ सुशिलले उत्कृष्ट गोल गर्न सफल भएका थिए।
त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो। ९८औं मिनेटमा साङले गोल गर्दै एभिनियरलाई २-१ ले अघि बढाए। १०६औं मिनेटमा विल्लेले गोल गर्दै टोलीलाई च्याम्पियन बनाए।
उपाधिसँगै एभिनियरले ६ लाख रुपैयाँसँगै शिल्ड जितेको छ। उपविजेता बनेको हेम्जाले ३ लाख रुपैयाँ प्राप्त गरेको छ। विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले पुरस्कृत गरेका थिए।
असार ४ गतेदेखि शुरु भएको प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, क्यामरुनी एभिनियर, खुमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेडको सहभागिता रहेको थियो।