काठमाडौँ - आयोजक इंग्ल्याण्डले महिला युरोकपमा विजयी सुरुवात गरेको छ। ओल्ड ट्राफोर्डमा गएरातिको उद्घाटन खेलमा अस्ट्रियालाई १-० ले हराउँदै घरेलु टोलीले विजयी सुरुवात गरेको हो।
खेलको १६ औं मिनेटमा बेथ मिडले गरेको एक मात्र गोल इंग्ल्याण्डको लागि निर्णायक गोल बन्यो। उनले फ्रान किर्बीको पासलाई सदुपयोग गरेर गोल गरेकी थिइन्।
उक्त खेल हेर्न ६८ हजार ८ सय ७१ दर्शकको कीर्तिमानी उपस्थित थियो। यस सँगै वुमेन्स युरोपेली च्याम्पियनसिपमा यस अगाडिको ३० हजार दर्शकको कीर्तिमान भंग भएको छ। घरेलु मैदानको फाइदा प्राप्त इंग्ल्यान्डलाई पहिलो पल्ट महिला फुटबलको ठूलो उपाधि जित्नका लागि बलियो प्रत्यासी मानिएको छ।
जितसँगै समूह ए मा तीन अंक जोडेको इङ्ग्ल्यान्ड शीर्ष स्थानमा रहेको छ। अष्ट्रिया पुछारमा रहेको छ। जारी महिला लिगमा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ।