काठमाडौं - काठमाडौं महानगरपालिकाले शनिबार पनि अवैध संरचना भत्काउनेक्रम जारी राखेको छ। महानगरले नक्सा पास नगरी बनाएका संरचनाहरुमा डोजर लगाउनेक्रम शनिबार बनस्थलीस्थित ढुङ्गेधाराबाट शुरु गरेको छ।
नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काउन थालेको हो। बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालेको महानगरपालिकाले जनाएको छ। अवैध संरचना भत्काउन महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा टोली खटिएको छ।
महानगरले यसअघि ३५ दिन भित्र अवैध संरचना हटाउन संरचना हटाउनु भनी सार्वजनिक सूचना जारी गरेको थियो। उक्त सूचनाको अवज्ञा गरेपछि महानगर डोजर लिएर भत्काउन निस्केको हो।
महानगरले बिहीबार बानेश्वरको अल्फाबिटाको संरचना हटाएको थियो भने बुधबार काठमाडौं मल अगाडिको संरचना हटाएको थियो। शुक्रबार राहदानी विभागको बेसमेन्ट खाली गराएको थियो।