काठमाडौँ - राष्ट्रिय क्रिकेट टिमका उपकप्तान रोहितकुमार पौडेलले लिस्ट ए क्रिकेटमा एक हजार पूरा गरेका छन्। आईसीसी क्रिकेट विश्वकप लिग -२ अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा बुधबार १३ रन जोडेपछि रोहितले लिस्ट ए मा एक हजार रन पूरा गरेका हुन्।
२० वर्षीय रोहितले स्कटल्याण्ड विरुद्ध ५ विकेट जित निकाल्दा अविजित ३४ रन जोडेका थिए। उनले समग्रमा लिस्ट ए मा ३८ खेलबाट १ हजार २१ रन बनाएका छन्। एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत रहेका रोहित लिस्ट एमा हजार रन पूरा गर्ने तेस्रो खेलाडी हुन्।
यसअघि पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले एक हजार रन पूरा गरिसकेका छन्। लिस्ट एमा पारसले एक हजार ४९७ र ज्ञानेन्द्रले एक हजार ४०६ रन बनाएका छन्। रोहितले ओडीआईमा नेपालका लागि सर्वाधिक ७८१ रन बनाएका छन्। जसमा १ शतक र ५अर्धशतक समावेश छ।
नेपालले सन् २०१८ अगष्टमा नेदरल्याण्ड्ससँग शृंखला खेल्दै ओडीआई यात्रा सुरु गरेको थियो। नेदरल्याण्डसँगको ऐतिहासिक शृखलाको दोस्रो खेलबाट रोहितले ओडीआईमा डेब्यु गरेका थिए। उनले त्यही वर्ष फेब्रुअरीमा नामिबिया विरुद्ध उसैको मैदानमा खेल्दै लिस्ट एमा डेब्यु गरेका थिए।
नेपाल क्रिकेट संघ (क्यान) ले गत जेठमा रोहितलाई लिग -२ अन्तर्गत अमेरिका र स्कटल्याण्डमा हुने त्रिकोणात्मक शृंखलाका लागि उपकप्तान नियुक्त गरेको थियो।