चितवन निकुञ्जमा बाघ सर्वेक्षणको काम सकियो

काठमाडौँ । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ। 

एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार माघको पहिलो साताबाट पर्साको प्रतापपुरबाहेकका बाँकी सबै क्षेत्र, पर्सा, बारा र रौतहट डिभिजन वन कार्यालय क्षेत्रमा सर्वेक्षण भइरहेको छ। ती क्षेत्रमा ३०० जोडी क्यामेरा राखिएको उहाँले जानकारी दिए।

यही माघ २० गतेसम्ममा सो क्षेत्रमा पनि सर्वेक्षण सम्पन्न हुनेछ। ती क्षेत्र सम्पन्न भएसँगै यहाँको क्यामेरा लगेर शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्वेक्षण गरिने र सबै क्षेत्रको सर्वेक्षणपछि तथ्याङ्कको काम गरिने जनाइएको छ। चितवन र पर्सालाई तीन ब्लक बनाएर सो सर्वेक्षण गत मङ्सिर १९ गते चितवनबाट सुरुआत गरिएको हो। पहिलो र दोस्रो ब्लकमा ‘क्यामेरा ट्रयापिङ’का काम सम्पन्न भएसँगै तेस्रो ब्लकमा काम थालिएको हो।

क्यामेरा ट्रयापिङको विधिबाट बाघ सर्वेक्षण गरिएको हो। प्रत्येक चार वर्ग किलोमिटर क्षेत्रफललाई एउटा ग्रिड मानेर एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरेर  सर्वेक्षण गरिएको हो। निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसारसर्वेक्षणमा क्यामेरा ट्रयाप, रेञ्ज फाइण्डर, जिपीएस र रेकर्ड फर्मलगायतका सामग्री प्रयोग भएका छन्।

अहिले क्यामेराले सङ्कलन गरेका फोटो ल्यापटप र कम्युटरमा जम्मा गर्ने काम भइरहेको छ। तीनवटै ब्लकमा सर्वेक्षणको काम सकिएलगत्तै क्यामेराबाट खिचिएका फोटो एकै ठाउँमा जम्मा गरी विज्ञसहितका टोलीले सफ्टवेयरको माध्यमबाट अन्तिम नतिजा निकाल्ने उनले जानकारी दिए।  

सर्वेक्षण अन्तर्गत बर्दिया र बाँके ब्लकमा मङ्सिर २९ गतेबाट काम थालिएको छ भने शुक्लाफाँटा र लालझाडी क्षेत्रमा यहाँको दोस्रो ब्लकको काम सकिएपछि यही क्यामेरा प्रयोग गरेर सर्वेक्षण थालिने जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×