काठमाडौँ - निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ।
उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन फिर्ता लिन सक्ने छन्। निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
आयोगले शनिवार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ। सात सय ५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ।
सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ।
यही वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो। बिहीवार साँझसम्मको तथ्याङ्कअनुसार स्थानीय तह सदस्य निर्वाचनमा एक लाख ५३ हजार १४५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ। प्रमुखमा तीन हजार ५१८, उपप्रमुखमा दुई हजार १७४, अध्यक्षमा तीन हजार ३९२ र उपाध्यक्षमा दुई हजार ४०७ जनाको मनोनयन दर्ता भएको आयोगले जनाएको छ।
यस्तै वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्यमा २३ हजार ८५१ र सदस्यमा ५५ हजार ७६७ जनाको उम्मेदवारी दर्ता भएको छ।