कैलाली । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले जानकारी दिए ।
यद्यपि योबारेमा औपचारिक निर्णय गर्न बाँकी छ । ‘हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं । पार्टी नेतृत्वको निर्देशन पनि प्राप्त भएको छ’, रावलले भने । ६ वैशाखमा एमालेसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारीले २१ वैशाखमा विश्वासको मत लिने तयारी गरेका थिए । तर एमालेले बझाङ उपनिर्वाचनबाट विजयी दमन भण्डारी बुवाको किरिया कर्ममा रहेको र मुख्यमन्त्रीले सल्लाह नगरेको भन्दै विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।