काठमाडौँ - त्रिदेशीय टी-२० क्रिकेटको दोस्रो खेलमा पनि पाकिस्तान विजयी भएको छ। हिजो बङ्लादेशलाई हराएको पाकिस्तानले आज न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।
क्राइसचर्चमा न्युजिल्यान्डले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ८ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो। पाकिस्तानका लागि कप्तान बाबर आजमले नटआउट ७९ तथा शदाव खानले ३४ रन बनाएका थिए। बलिङतर्फ न्युजिल्यान्डका ब्लाएर टिकनरले दुई विकेट लिएका थिए।
यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले डेवन कनवेको ३६ र मार्क चापम्यानको ३२ रन मद्दतमा एक सय ४७ रन बनाएको थियो। बलिङतर्फ पाकिस्तानका ह्यारिस रौफले ३ तथा मोहम्मद नवाज र मोहम्मद वासिमले २/२ विकेट लिएका थिए।
६ खेलको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा हिजो पाकिस्तानले बङ्लादेशलाई हराएको थियो।