चितवन - नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ। सम्मेलनमा चिकित्सकका अनुभव आदानप्रदानसँगै नयाँ प्रविधिको बारेमा छलफल हुने जनाइएको छ।
समाजका अध्यक्ष प्रा.डा. मणिप्रसाद गौतमले नेपालमा एक सय हाराहारी विज्ञ चिकित्सक रहेको जनाउँदै अधिकतमको उपस्थितिमा यही शनिबार सम्मेलन हुने जानकारी दिए। सम्मेलनमा २६ वैज्ञानिक कार्यपत्र प्रस्तुतीकरण र छलफल हुनेछ। गौतमले भने, “कार्यक्रममा मुटु शल्य चिकित्सक, फोक्सो रोग विशेषज्ञ, भास्कुलर सर्जन र फिजिसियनसमेत सहभागी हुनुहुनेछ।”
नेपालमा विशेषज्ञ चिकित्सक थपिँदै गएको जनाउँदै गौतमले नयाँ प्रविधिको बारेमा खोज अनुसन्धान उपलब्धिलाई आदानप्रदान गर्न सम्मेलन फलदायी हुने बताए।
समाजका महासचिव डा. शंकर लौडारीले पहिलो पटक गर्न लागिएको सम्मेलनले मुटु रोगको उपचारमा प्रविधि भित्र्याउँदै नयाँ आयाम दिने बताए। उनले भने, “अब नेपाली मुटु र फोक्सो उपचारका लागि विदेश जानु नपर्ने गरी विशेषज्ञ र प्रविधि हामीसँग छ।”