पर्यटक बढ्ने व्यवसायीको अपेक्षा

काठमाडौँ - नेपालमा विदेशी पर्यटक आगमनका हिसाबले सबैभन्दा बढी नेपाल भित्रिने मुलुकमा छिमेकी मुलुक भारत पर्छ। कोभिड महामारीका कारण करिब दुई वर्षदेखि भारतीय पर्यटक उल्लेख्य सङ्ख्यामा नेपाल आउन सकेका थिएनन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंग्लोरमा पुनः उडान सञ्चालन गर्ने भएकाले आगामी दिनमा भारतीय नागरिक धेरै सङ्ख्यामा आउने पर्यटन व्यवसायीले आँकलन गरेका छन्।

भारतका तीनवटै गन्तव्यबाट सिधा हवाई उडान पनि हुने भएकाले भारतीय पर्यटक बढ्ने उनीहरुको अपेक्षा छ। धार्मिक तथा मनोरञ्जनका लागि भारतीय पर्यटकको रोजाइमा नेपाल गन्तव्य पर्छ। 

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईँले भारतका तीनवटै गन्तव्य दिल्ली, मुम्बई र बैंग्लोर गन्तव्यको उडान खोल्ने र पीसीआर हटाएर कोभिडविरुद्धको खोप लगाएका पर्यटकलाई आवतजावत गर्न दिने विषय ठूलो उपलब्धि हो भन्दै नेपालको तर्फबाट पनि कतिपय मापदण्ड सहज बनाएको खण्डमा भारतीय पर्यटकको ओइरो लाग्ने विश्वास दिलाए। नेपालको पर्यटनको भविष्य उज्ज्वल रहेको उनले बताए। “नेपाल सरकारको तर्फबाट पनि खोप लगाएका पर्यटकलाई आउन दिने र अनअराइभल भिसाको व्यवस्था गर्नुपर्छ, हामी निजी क्षेत्रको धारणा पनि यही हो”, उनले भने।

नेपालको पर्यटन पुनरुत्थानको चरणमा नेपालले धेरै पर्यटकीय गन्तव्यको विकास गरेको छ र पर्यटकलाई ‘इन्गेज’ गराउन सहयोग पुग्ने व्यवसायीको विश्वास छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन क्षेत्र पनि खुलिसकेको र विशेष गरी भारतका तीनवटै गन्तव्यमा नियमित उडान सञ्चालन गरिनुले नेपालको पर्यटन बजारले नयाँ फड्को मार्ने आशा व्यक्त गरे। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२० को जनवरीमा १६ हजार ९७५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

फेब्रुअरी महिनामा पनि १९ हजार ७६६ पर्यटक नेपाल भित्रिएका छन्। यो सङ्ख्यामा पनि सबैभन्दा बढी नेपाल आउने पर्यटकमा भारतीय नै छन्। सन् २०२१ मा डेढ लाख हाराहारी र सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेको विवरण छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×