काठमाडौँ - हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ।
सो राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड र श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँ परेपछि यातायातका साधन आवत जावत गर्न राकिएको थियो। राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन्। यात्रुसमेत अलपत्र परेका छन्।
अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनले भने, “दुई जेसिबीको प्रयोग गरी राजमार्ग सञ्चालन गर्न हिउँ पन्छाउन थालिएको छ, बाक्लो हिउँ जमेकाका कारण ढिलाइ भएको छ, आज अपरान्ह्पछि सञ्चालनमा आउन सक्छ।”
यसअघि बिहीबारदेखिनै अवरुद्ध रहेको यहाँका दशरथचन्द र महाकाली राजमार्ग भने शुक्रबार दिउँसोपछि सञ्चालन भएका थिए।