तेह्रथुम - जिल्लाको लालीगुराँस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अर्जुनकुमार माबोहाङ पुनःनिर्वाचित भएका छन्। नेकपा (एमाले)का उम्मेदवार गणेश सेनेलाई एक हजार ७९५ मतको अन्तरले पराजित गर्दै माबोहाङ पुनः नगरप्रमुख निर्वाचित भएका छन्। माबोहाङले पाँच हजार १३९ मत प्राप्त गरी विजयी हुँदा सेनेले तीन हजार ३४४ मात्र मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय लालीगुराँसले जनाएको छ।
नगर उपप्रमुखमा पनि कांग्रेसकै जमुना मगर कार्की चार हजार ८८७ मत प्राप्त गरी विजयी भए। उनले एमालेका उम्मेदवार छविमाया तिम्सिनालाई एक हजार २९३ मतान्तरले पराजित गरेका छन्। कांग्रेसले लालीगुराँस नगरपालिकाका वडा नं २, ३, ४, ७, ८ र ९ मा विजय हासिल गरेको छ। एमालेले वडा नं १ र ६ तथा ५ मा एमालेकै सहयोगमा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन्।