काठमाडौँ । ‘जेनजी आन्दोलन’पछि पनि नेपालमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म ११ महिनामा नेपाल भित्रिने पर्यटकको संख्या १० लाख ६० हजार नाघेको छ, जुन कोभिडअघिको सन् २०१९ को तुलनामा ३.३ प्रतिशत मात्र कम हो।
पर्यटन उद्योगका जानकारहरूका अनुसार, राजनीतिक आन्दोलनको बाबजुद पर्यटक संख्यामा कमी नआउनु नेपालप्रतिको अन्तर्राष्ट्रिय विश्वास बढ्दै गएको संकेत हो। ‘अहिलेका पर्यटक सुसूचित छन्, नेपालमा हुने आन्दोलन पर्यटकविरुद्धका हुँदैनन्,’ पर्यटन व्यवसायी सन्तोष साह भन्छन्।
अमेरिकाबाट आउने पर्यटक २०१९ को तुलनामा २१% वृद्धि
भारतीय पर्यटकमा १३.७% वृद्धि
बंगलादेशी पर्यटकमा आश्चर्यजनक रूपमा १३१% वृद्धि
उत्तरी छिमेकी चीनबाट हुनुपर्ने आगमन भने २०१९ को तुलनामा ४३% कम रहेको बोर्डले जनाएको छ। चीनको आन्तरिक नीति, आर्थिक सुस्ती र हवाई कनेक्टिभिटी मुख्य कारण मानिएको छ।
सन् २०२५ को नोभेम्बरमा १ लाख १६ हजार पर्यटक भित्रिँदा युरोपेली बजारमा हल्का सुधार देखिएको छ। काठमाडौँ, पोखरा, चितवनका तारे होटलहरूमा अकुपेन्सी दर पनि बढ्दो छ।
चिनियाँ पर्यटकलाई नेपाल फर्काउनु अहिलेको मुख्य चुनौती रहेको बोर्डले जनाएको छ। आगामी वर्षहरूमा गुणस्तरीय पर्यटक भित्र्याउने र बसाइ अवधि बढाउने रणनीति अघि सारिने बोर्डका अधिकारीहरूको भनाइ छ।