काठमाडौँ - इटालियन क्लब नापोलीका मालिक तथा अध्यक्ष अउरेलियो डे लरेन्टिसले अफ्रिकन खेलाडी नकिन्ने बताएका छन्।
उनले अफ्रिकन कप अफ नेसन्सतर्फ इंगित गर्दै राष्ट्रिय टिमका लागि खेल्न जाने खेलाडी आफ्नो क्लबले नकिन्ने धारणा सार्वजनिक गरेका हुन्। लरेन्टिसले खेलाडीहरुले अफ्रिकी कप अफ नेसन्समा नखेल्ने प्रतिवद्धता नगरेसम्म क्लबले अफ्रिकी खेलाडीहरूलाई अनुबन्ध नगर्ने वाचा गरेका छन्।
सेनेगलका डिफेण्डर कालिदोउ काउलीबेली र क्यामरुनका मिडपिल्डर आन्द्रे फ्रांक जाम्बो अङ्गुइसाले गत वर्ष अफ्रिकन कप खेल्न जाँदा नापोलीको ६ खेल गुमाएका थिए। काउलीबेली हाल प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्ध भइसकेका छन्।
'अफ्रिकी खेलाडीहरूले अफ्रिकन कप अफ नेसन्समा खेल्न छोड्नुपर्छ। खेल्न नछाडे म उनीहरूलाई थप किन्ने छैन,' डे लरेन्टिसले वाल स्ट्रिट इटालियाको कार्यक्रममा भने।
काउलीबेली चेल्सीमा अनुबन्ध भएपछि नापोलीका मालिकले यसो भनेका हुन्। माउलीबेली र जाम्बोले नहुँदा गत सिजन नापोलीले युभेन्ट्ससँग १-१ को बराबरी खेलेको थियो भने कोप्पा इटालियामा फियोरेन्टिनासँग पराजित भएको थियो।
८ वर्ष नापोलीमा बिताएका चेल्सी गएका काउलीबेलीले डे लरेन्टिसको भनाइप्रति प्रतिक्रिया दिँदै सबैलाई सम्मान गर्नु महत्वपूर्ण रहेको बताएका छन्। 'तपाईं यसरी अफ्रिकी राष्ट्रिय टोलीहरूको बारेमा बोल्न सक्नुहुन्न,' ३१ वर्षीय सेन्टर ब्याकले बीबीसी स्पोर्टलाई भने, 'तपाईंले सम्मान गर्नुपर्छ।'
काउलीबेलीले अफ्रिकन खेलाडी बिना अरेन्टिसको टिमले खेल्न सक्छ भने ठिकै रहेको बताएका छन्। तर क्लबमा रहेको सबैको विचार उनको जस्तो नभएको बताउँदै नापोलीको समर्थकको बारे आफूलाई थाहा भएको बताएका छन्।