काठमाडौँ - ललितपुरको हरसिद्धी गाउँबाट देवगणसहितले सोमबार ल्याएको त्रिशक्ति देवीलाई पनौती बजारस्थित हरसिद्धि पाटीमा राखेर पूजाआजा तथा बलि चढाएर बजार परिक्रमा गराइएको छ।
परिक्रमाका क्रममा त्रिवेणीघाटमा रहेको बासुकी नागमा जल चढाएर थुमा (भेडा)को बलि चढाइ पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरसिद्धि डबलीमा देवता पु¥याएको जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ। मेलाका आर्थिक संयोजक पुरुषोत्तम कर्माचार्यका अनुसार आज बिहानैदेखि नाचगान सुरु भएको छ भने दिनभरिमा पञ्चबलि (थुमा, बोका, राँगो, हाँस र माछा)को बलि दिइन्छ। बुधबार जात्रा समापन गरी आगामी वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात देवगणहरू फर्किने कार्यक्रम रहेको जात्रा व्यवस्थापन समितिले जनाएको छ।
साठी वर्षदेखि पनौतीमा पनि मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तररूपमा मनाउन नसकेको अवस्थामा सोमबारबाट पुनः जात्रा सुरु भएको समितिले जनाएको छ । यसअघि विसं २०६६ मा जनसहभागिताबाट रकम सङ्कलन गरेर जात्रा सञ्चालन गरेकामा त्यसको ठीक १२ वर्षपछि सोमबारबाट जात्रा सुरु भएको समितिका संयोजक सुरेश सैँजूले जानकारी दिए।
स्वच्छ मनले एउटा मात्रै चिज मागेर त्रिशक्ति देवीको पूजा गरेमा त्यो मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ। करिब दुई हजार वर्ष पहिले प्रारम्भ भएको मानिने हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको जनविश्वास रहिआएको छ।