कांग्रेस १४औँ महाधिवेशनः प्रधानमन्त्री देउवाद्वारा मतदान

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान गरेका छन्।

सभापतिका प्रत्यासी उनले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्। केहीबेरअघि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन् भने अन्य प्रत्यासी डा. शेखर कोइराला र विमलेन्द्र निधि पनि मतदानस्थलमै उपस्थित छन्। यसैगरी, उपाध्यक्षका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरू डा. रामशरण महत, सुनील थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले पनि मतदान गरिसकेका छन्। मतदानका लागि प्रतिनिधि लामबद्ध रहेका छन्। कांग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका हुन्। एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ। भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ।

हालसम्म तीनवटै मतदान केन्द्रबाट करिब २०० जनाले मतदान गरिसकेका निर्वाचन समितिले जनाएको छ। एकजना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ। आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण केहीबेरअघि मात्रै मतदान सुरु भएको हो। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ। कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ। मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ।

यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी-जनजाति १५, खस-आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×