काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन (मंसिर २७–२९) नजिकिँदै गर्दा पार्टीभित्र अध्यक्ष पदका दावेदार केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूहबीच आन्तरिक हिसाब–किताब गर्ने क्रम तीव्र भएको छ।
ओली समूहमा गुरु बराल, रामबहादुर थापा, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, पद्मा अर्याल लगायतका नेता छन् भने पोखरेल समूहमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट रहेका छन्।
महाधिवेशनका लागि झन्डै २२ सय प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधि चयनको पूर्वसन्ध्यामा दुवै समूहले आफ्नो पक्षमा कति प्रतिनिधि छनोट भए भन्ने आन्तरिक विश्लेषण गरिरहेको स्रोतहरूले जनाएका छन्। ओली समूहका अनुसार, केन्द्रीय कमिटीमा करीब ८० प्रतिशत प्रतिनिधि उनका पक्षमा छन्।
पोखरेल समूहले पनि आ–आफ्ना प्रतिनिधिहरूको विवरणको आधारमा महासचिव पदका उम्मेदवार र प्यानल संरचना तय गर्ने तयारी गरेको छ। यस क्रममा युवा नेताहरूले नेतृत्व परिवर्तनमा खुला प्रतिस्पर्धा गर्न सकेको देखिएको छैन। अधिकांश युवा नेताहरू वरिष्ठ नेताहरूको सहमति अनुसार अघि बढिरहेका छन्।
एमाले महाधिवेशनको प्रतिनिधि सूची मंसिर १७ सम्म केन्द्रमा पुगिसक्ने र त्यसपछि उम्मेदवारको अन्तिम निर्णय हुने पार्टी स्रोतहरूले बताएका छन्।