काठमाडौँ । आज राजधानीको नयाँ बानेश्वर स्थित एभ्रेष्ट होटेल अगाडि नेपाल बारको आन्दोलन विरुद्धको विरोध प्रदर्शनमा विभिन्न वक्ताहरुले बोल्ने क्रम जारी छ ।
यसै प्रदर्शनमा अधिवक्ता सञ्जय अधिकारीले पनि आफ्ना धारणा प्रस्तुत गरेका छन् । उनले कालो कोट लाएर बसेका वकिलहरु मुद्दा लड्न अदालतको प्राङ्गणमा हुनु पर्ने तर नेपाल बारले कानुन व्यवसायीहरुलाई सडकमा आउन वाध्य गराएको बताए । उनले अहिले वकिलहरुले सडकमा धर्ना दिनु पर्ने अवस्था नेपाल बारका दुईचार जना वरिष्ठहरुको गलत निर्णयका कारण आएको समेत बताए । उनले यसको जिम्मेवारी नेपाल बारले लिनु पर्ने र सम्पूर्ण रुपमा अदालत संचालन गर्नु पर्ने धारणा व्यक्त गरे ।
अदालतमा आजबाट गोला प्रथा सुरुहुँदा अदालत बस्ला सर्वसाधारणको मुद्दाको सुनुवाई होला भन्ने अपेक्षा राखे पनि अपेक्षा पुरा हुने अवस्था नदेखिएको अधिवक्ता अधिकारीले बताए । उनले अहिले घरबाट आउने तातो चिया खाने र फर्किने मात्र काम भइ रहेको र न्यायाधीशहरु मुद्दा हेर्न नसक्ने भइसकेको बताए ।
उनले न्यायाधीशहरुलाई मुद्दा हेर्न नसक्ने हो भने राजीनामा दिएर घरमा जान र निकास दिन अनुरोध गरे र उनीहरुको ठाउँमा अर्को सक्षम जनताको मुद्दा हेर्ने न्यायाधीश आउने बताए ।
नेपाल बारका कारण अदालत ठप्प भइ रहेको र उनीहरुले स्वतन्त्रका कानुन व्यवसायीहरुको काउन्टर प्रोटेष्टलाई मजाकको रुपमा लिरहेका कारण अब नेपाल बारमा गएर धर्ना बस्नु पर्ने अवस्था देखिएको बताए । उनले नेपाल बारका वरिष्ठहरु र न्यायाधीशहरु प्रधानन्यायाधीश हटे आफु त्यो कुर्सीमा बस्न पाउने लालासाले आन्दोलन गरेको आरोप समेत लगाएका छन् ।
त्यसै गरी उनले राजीनामा किन गर्नु पर्यो भन्ने कुरा नेपालबारले बुझाउन नसकेको बताए ।व्यक्तिगत स्वार्थ पुर्तिको लागि कसैले राजीनामा दिनु पर्ने आवस्यक छैन र राजीनामा हुँदा पनि हुँदैन भन्ने धारणा अधिवक्ता अधिकारीले प्रस्तुत गरे ।
यसै गरी उनले छिटो भन्दा छिटो निकास दिन नेपाल बार लाई आग्रह गरेका छन् । यदि त्यसो नभए उनीहरुले गएर नेपाल बारको वकिलहरु र न्यायाधीशहरुको कठालो समाएर बाहिर निकाल्नु पर्ने दिन अवस्य आउने चेतावनी समेत उनले दिएका छन् । त्यसै गरी उनले चाँडै निकास निकालेर अदालतलाई बन्द हुन नदिन र कामकारवाही अगाडि बढाउन आग्रह समेत गरेका छन् ।