काठमाडौँ - जारी विश्वकपमा अहिलेसम्म १० देश नकआउट चरणमा पुगेका छन्।
समुह चरणका अन्तिम खेलहरु अहिले जारी रहेको बेला नेदरल्याण्डस, सेनेगल, इङल्याण्ड, अमेरिका, अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स, अस्ट्रेलिया, ब्राजिल र पोर्चुगल विश्वकपको नकआउट चरणमा पुगेका हुन्।
अब नकआउट चरणमा नेदरल्याण्डसले अमेरिकाको सामना गर्ने भएको छ भने इङल्याण्डले सेनेगलको सामना गर्ने भएको छ। त्यस्तै फ्रान्सले पोल्याण्डलाई प्रतिद्वन्दी पाएको छ भने अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्ने छ।
अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा पुगेको छ भने अब नकआउटमा अस्ट्रेलियाको सामना गर्ने छ। अस्ट्रेलिया विश्वकपको इतिहासमा दोस्रो पटक राउण्ड १६ मा पुगेको छ। यसअघि २००६ मा राउण्ड १६ मा पुगेको थियो। २००६ को राउण्ड १६ मा अस्ट्रेलिया इटालीसँग १-० गोल अन्तरले पराजित भएको थियो।
२०१८ को विश्वकपमा अर्जेन्टिना राउण्ड १६ मा फ्रान्ससँग ४-३ गोल अन्तरले पराजित हुदै बाहिरिएको थियो।
यसैबीच लियोनेल मेस्सीले पोल्याण्डविरुद्ध पेनाल्टी मिस गरेकोमा आफु अहिलेसम्म दुखी रहेको प्रतिक्रिया दिएका छन्। मेस्सीले राउण्ड १६ मा अस्ट्रेलिया कडा प्रतिद्वन्दी रहेको बताउदै अस्ट्रेलियाविरुद्धको खेल कठिन हुने बताएका छन्। उनले आफुहरुले अस्ट्रेलियाविरुद्धको खेलका लागि सोहि किसिमले खेलको तयारी गर्ने बताएका छन्।