काभ्रेपलाञ्चोक - काभ्रेको बनेपामा सडक बन्द गराउन हिँडेका एकजना युवकलाई स्थानीयले कुटपिट गरेका छन्। बनेपा नगरपालिका स्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट गरेका हुन्।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ। बन्द गराउन चारदोबाटोमा भेला भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिँदै थियो। प्रहरीको घेरा तोडेर अघि बढेका पल राउतले बा ३ ख २२६ नम्बरको बस तोडफोड गर्न थालेपछि बसका स्टाफ र स्थानिय मिलेर उनलाई आक्रमण गरेका हुन्।
बनेपाबाट सवारी साधन बन्द गराउन खोज्ने राउत सहित ८ जनालाई पक्राउ गरिएको जिप्रका काभ्रेका प्रवक्ता (डिएसपी) ढुण्डीराज न्यौपानेले रातोपाटीलाई बताए। पक्राउ पर्नेमा कालिकोट घर भएका १९ वर्षीय मनिष विक उर्फ प्रशान्त, कालिकोटको नरहरिनाथ गाउँपालिका घर भएका १९ वर्षीया वसन्ती बिक र कालिकोटको राजकोटा गापा–९ घर भएका २७ वर्षीय जयराज लोर लगायत छन्।
यसअघि धुलिखेल नगरपालिका–९ स्थित रानाछापमा बन्दकर्ताले कुकर बम राखेका थिए। विपी राजमार्ग स्थित रानाछापमा बिहान ४ बजे फेला परेको बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको डिएसपी न्यौपानेले जानकारी दिए।