काठमाडौँ- यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा मंगलबार म्यानचेस्टर सिटी र रियल म्याड्रिड भिड्दैछन्। प्रशिक्षक पेप गुआर्डीओला रियलविरुद्ध च्याम्पियन्स लिगको नकआउट चरणमा जितको ह्याट्रिक पूरा गर्ने लक्ष्यमा रहेका छन्।
गुआर्डीओलाले यसअघि दुई पटक फरक टोलीको जिम्मेवारी सम्हाल्दै रियललाई च्याम्पियन्स लिगको नकआउट चरणमा हराएका छन् थिए। सन् २०१०-११ सिजनमा बार्सिलोनाको प्रशिक्षकको भूमिकामा गुआर्डीओलाले रियललाई पराजित गरेका थिए। त्यसबेला बार्सिलोनाले सेमिफाइनलमा रियलमाथि ३-१ को समग्र जित हासिल गरेको थियो।
पेपले त्यसपछि म्यानचेस्टर सिटी आएर पनि रियल म्याड्रिडलाई हराएका छन्। सन् २०१९-२० को सिजनमा पेपको सिटीले रियललाई समग्रमा ४-२ ले पराजित गरेको थियो। त्यसबेला रियलको यात्रा राउन्ड अफ १६ मा नै समाप्त भएको थियो। यसपटक रियललाई पराजित गरे गुआर्डीओला रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको नकआउट चरणमा तीन पटक पराजित गर्ने पहिलो प्रशिक्षक बन्नेछन्।
रियलले यसअघि म्यानचेस्टर सिटीको मैदानमा खेलेका तीन खेलमा जितेको छैन। यसक्रममा टोलीले २ बराबरी र १ हारको नतिजा निकालेको छ। आफ्नो मैदानमा रियलविरुद्ध अपराजित रहने क्रममा सिटीले २०१५-१६ को सेमिफाइनल पहिलो लेगमा गोलरहित बराबरी खेलेको थियो। त्यस्तै सन् २०१९-२० को राउन्ड अफ १६ को पहिलो लेगमा सिटीले २-१ को जित दर्ता गरेको थियो।
रियलले इंग्ल्यान्डको टोलीविरुद्ध पछिल्लो ६ अवे खेलमा एक पटक मात्र जित हासिल गरेको छ। चेल्सीलाई क्वाटरफाइनलको पहिलो लेगमा पराजित गर्दै रियलले बलियो सुरुवात गरेको थियो। त्यसो त हालसम्म कुनैपनि टोलीले च्याम्पियन्स लिगको नकआउट चरणमा दुई इंग्लिस टोलीको घरेलु मैदानमा जित हासिल गरेको इतिहास छैन।