काठमाडौँ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.४२ अङ्कले उकालो लागेर दुई हजार ७३५.९३ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३६ अङ्कले बढेर ५२३.१५ मा पुगेको छ। नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकममा भने उल्लेख्य सुधार हुन सकेको छैन।
कूल २२८ कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर रु. तीन अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ मूल्यमा खरिद बिक्री भएका छन्। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने ११ उपसमूहको शेयर उकालो लागेको छ। उत्पादन १८.७१ र लगानी ०.१५ अङ्कले घटेको छ।
यस्तै, बैंकिङ ८.३२, व्यापार १३.६४, होटल तथा पर्यटन ४.७५, विकास बैंक ७०.०५, जलविद्युत् २७.५६, वित्त ४३.९१, निर्जीवन बीमा १२८.०२, अन्य ४६.९२, लघुवित्त १५.८१, जीवन बीमा ७.०८, सामूहिक लगानी कोष ०.०६ अङ्कले उकालो लागेको छ। आजको कारोबारपछि बजार पूँजीकरण रु. ३८ खर्ब ७५ अर्ब १४ करोड १९ लाख ३८ हजार १९५ बराबर पुगेको छ।
नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ।