शुक्लागण्डकी नगरपालिकाद्वारा वडाबाटै योजना सम्झौता

तनहुँ । शुक्लागण्डकी नगरपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा समयमै योजना सम्पन्न गराउनलाई नगरपालिकाले वडा कार्यालयमै पुगेर योजनाको सम्झौता गर्न थालेको हो । पहिलो पटक नगरपालिकाका कर्मचारी शुक्लागण्डकी–१० को वडा कार्यालयमा पुगेर योजना सम्झौता गरेका छन् । प्रशासन शाखा, योजना शाखा, नगरका प्राविधिक र बैङ्कका प्रतिनिधि वडामै पुगेर योजना सम्झौता गरेका हुन् ।

वडावासीलाई योजना सम्झौता गर्न नगरपालिकाको केन्द्रमै धाउनुपर्ने परिपाटीको अन्त्य गर्न वडा कार्यालयमै पुगेर योजना सम्झौता गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताए । यसरी वडा कार्यालयबाट योजना सम्झौता हुँदा योजना कार्यान्वयनमा सहज हुने उनले बताए । “नगरपालिकाको कार्यालयबाट नियमित योजना सम्झौता भइरहन्छ । यसपालि नगरपालिकामा वार्षिक कार्यक्रम कार्यान्वयन पुस्तिका बनाएर काम गरिएको छ । पुस्तिकामा कुन योजना कहिलेसम्म सम्पन्न गर्ने भनेर तोकिएको छ । वडामै गएर योजना सम्झौता गर्दा हामीलाई पनि लक्ष्यअनुसार योजना सम्पन्न गर्नलाई सजिलो हुन्छ”, उनले भने । वडावासीलाई नगरपालिकाको केन्द्रमा पुग्नुपर्ने झन्झट पनि हट्ने लम्सालले बताए ।

असारे विकासलाई रोक्न वार्षिक कार्यक्रम कार्यान्वयन पुस्तिका तयार पारेर काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले बताए । “कुन योजना कहिले, कसरी, कहाँ, कसका लागि गर्ने भनेर पुस्तिकामा उल्लेख छ । योजनाबद्ध तरिकाले काम हुन्छ । कर्मचारीलाई जिम्मेवार र जबाफदेही बनाउँछ । पुँजीगत खर्चको गति पनि बढाउँछ । अर्थतन्त्रलाई चलायमान बनाउँछ । तोकिएकै मितिमा काम हुँदा प्रभावकारिता समेत बढ्छ”, उनले भने । जनतालाई नगरपालिकाको कार्यालयको शाखामा र बैङ्कमा भतारिँदा भोग्ने सास्ती हटाउनलाई वडामै गएर योजना सम्झौता गर्न थालेको उनले बताए । नगरपालिकाको केन्द्र दुलेगौडाबाट टाढा पर्ने वडा नम्बर १, १०, ११ र १२ को वडा कार्यालयमै पुगेर योजना सम्झौता गरिने उनले जानकारी दिए ।

वडा कार्यालयमै योजना सम्झौता गर्न नगरपालिका आएपछि सेवाग्राहीलाई राहत मिलेको छ । शुक्लागण्डकी–१० मा एकै दिन १८ योजना सम्झौता भएको वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार चालु वर्षमा वडाले ३८ योजना सञ्चालन गर्दै छ । यसअगाडि पनि नगरपालिकामा पुगेर सम्झौता भएर केही योजनाको काम सुरु भइसकेको उनले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×