काठमाडौँ - भारतीय पूर्व कप्तान सचिन तेन्दुलकरका छोरा अर्जुनले शैद मुश्ताक अली ट्रफीमा गोवाबाट हैदराबादविरुद्ध सानदार बलिङ प्रदर्शन गरेका छन्। बायाँ हाते तीव्र गतिका बलर अर्जुनले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिएका हुन्।
अर्जुनको यो टि-२० करिअरको उच्च प्रदर्शन हो। यसअघि घरेलु क्रिकेट मुम्बईबाट खेलेपनि त्यहाँ पर्याप्त अवसर नपाउँदा अर्जुनले यस सिजनदेखि गोवाबाट खेल्ने निर्णय लिएका हुन्।
सवाई मानसिंह स्टेडियम, जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो। तिलक बर्माले ४६ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६२ रन बनाएका थिए। अर्जुन बाहेक अन्यले राम्रो बलिङ गर्न सकेनन्।
जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको गोवा १८.५ ओभरमा १ सय ४० रनमा अल आउट भयो। आदित्य कौशिकले २२ बलमा ४ छक्कासहित ३३ रन बनाएका थिए। हैदराबादका रवि तेजाले ३.५ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। अर्जुन २ रनमा आउट भएका थिए।
अर्जुन इन्डियन प्रिमियर लिग (आइपिएल) मा पछिल्ला २ सिजनमा मुम्बई इन्डियन्समा रहेपनि डेब्यूको अवसर पाएका छैनन्। भारतले अर्जुनलाई नेट बलरको रुपमा पनि प्रयोग गर्दै आएको छ। शुक्रबार यसै प्रतियोगितामा मुम्बईका कप्तान पृथ्वी शाले आसमविरुद्ध ६१ बलमा १३ चौका र ९ छक्कासहित १ सय ३४ रनको शतकीय इनिङ खेलेका थिए।
भारतका ३८ जिल्लाबीच प्रतिस्पर्धा हुने यस प्रतियोगिताको प्रदर्शनबाट आइपिएल देखि भारतीय टोलीमा खेलाडी छनोट हुने गर्दछ। आइपिएलमा यो प्रतियोगिता प्रदर्शनलाई नै फ्रेन्चाइज टोली आधार बन्ने गर्दछन्। बिसिसिआईले आइपिएपछि आयोजना गर्ने दोस्रो ठूलो टि-२० प्रतियोगिता हो।
एकदिवसिय लिष्ट ए मान्यता प्रतियोगिता विजय हजारे र प्रथम श्रेणी मान्यता प्राप्त खेलमा रणजी ट्रफी हुने गर्दछ।