काठमाडौँ - लोकगायक विष्णु खत्रीको नयाँ गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ। उनको आफ्नै युट्युब च्यानलबाट मङ्गलबार उक्त गीत सार्वजनिक गरिएको हो। परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा आधारित गीतमा बालगायक सुप्रिम मल्ल ठकुरी र खत्री स्वयंले स्वर रहेको छ।
रचना र सङ्गीत पनि गायक खत्रीकै छ। गीतको म्युजिक भिडियोमा कलाकार स्मारिका ढकाल, सरिन केसीसँगै गायक खत्रीको समेत अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन पनि उनी आफैले गरेका हुन्।
प्रस्तुत गीतले सामाजिक यथार्थ चित्रण गरेको गायक खत्रीले बताएका छन्। प्रदेशमा रहेका बुवा दशैँमा घर आउने आशमा रहेका छोराको मनोभाव गीतमा मुखारित छ। मार्मिक सिर्जना र ग्रामीण परिवेश झल्काउने प्रस्तुतिका कारण गीत राम्रो बनेको स्रोता-दर्शकले प्रतिक्रिया दिएका छन्।
लोकगायक खत्रीका यसअघि ‘सुनको जलप’, ‘रिनै रिनको’, ‘दशैँ-तिहारसँगै मनाउँला’, ‘दशैँमा आउ प्यारा’लगायत दशैँ गीत सार्वजनिक भैसकेका छन्।२ दशकदेखि सङ्गीतमा सक्रिय उनले दशैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक गर्दै आएका छन्।
जनजीवनका भोगाइलाई जीवन्त ढङ्गले प्रस्तुत गर्न पोख्त सर्जक-गायक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’ लगायत गीत चर्चित छन्।