काठमाडौँ - १० खेलाडीमा सीमित इल्चेलाई ३-० ले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार राति बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा मेम्पिस डिपाएले १ गोल गरेका थिए। खेलको १४औं मिनेटमा गोन्जालो भर्डुले रातो कार्ड पाउदै मैदान छोडेपछि बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो।
घरेलु टिमका लागि रोवर्ट लेवान्डोवस्कीले ३४औं मिनेटमा अग्रता दिलाएका थिए। यस्तै, ४१औं मिनेटमा मेम्फिस डिपेले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। ४८औं मिनेटमा लेवान्डोवस्कीले नै बार्सिलोनाका लागि तेस्रो गोल गरे। यसै सिजन बायर्न म्युनिखबाट क्याम्प नोउ भित्रिएका लेवान्डोवस्कीले बार्सिलोनाबाट सबैखाले प्रतियोगितामा गरी गरेको यो ११औं गोल हो।
बार्सिलोना यो सिजन घरेलु लिगमा अझै अपराजित छ। जितसँगै ६ खेलबाट १६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। यद्यपि, १ अंकले मात्र दोस्रो स्थानमा रहेको रियाल मड्रिडले बार्सिलोनाभन्दा १ खेल कम खेलेको छ।