काठमाडौँ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको 'प्रधानमन्त्री टी-२० कप' अन्तर्गतको फाइनल खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्रीकपको उपाधि जित्न सफल भएको छ।
एपीएफले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा प्रहरी निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो। एपीएफले उपाधिसँगै पाँच लाख नगद पुरस्कार पाएको छ। त्यसैगरि उपविजेतामा बनेको पुलिसले तीन लाख रुपैयाँ पाएको छ।
खेलमा दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे पनि पुलिस फाइनलसम्म आइपुग्दा अपराजित रहन सकेन। पुलिसका लागि दीपेन्द्रले सर्वाधिक ६५ रन बनाए भने दिलीप नाथले २३ रन, अनिल शाह १० रन र आरिफ शेखले १२ रन बनाए।
एपीएपका लागि अमरसिंह राउटेलाले सर्वाधिक २९ रन, लोकेश बमले २७ रन, सन्दीप जोराले २४, भुवन कार्कीले २७ रनको योगदान दिए। १६ पुसदेखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो।