म्याग्दी - आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रवार उम्मेदवारी फिर्ता गरेका छन्।
म्याग्दीका छवटा स्थानीय तह र ४५ वटा वडामा वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए। निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयन दर्ता गराएकामध्ये विभिन्न पदका ४१ ले फिर्ता लिएका जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए।
उनका अनुसार जिल्लाभर कूल उम्मेदवारको संख्या ७१८ जना कायम भएको छ। अध्यक्ष/प्रमुखमा ३, उपाध्यक्ष/उपप्रमुखमा ५, वडाध्यक्षमा ११, महिला सदस्यमा ५, दलित महिला सदस्यमा ४ र खुल्ला सदस्यमा १३ जनाको उम्मेदवारी फिर्ता भएको कार्यालयले जनाएको छ।
बेनी नगरपालिकामा २३, धौलागिरि गाउँपालिकामा ५, मङ्गला गाउँपालिकामा ७ र रघुगङ्गा गाउँपालिकामा ६ जनाले उम्मेदवारी फिर्ता गरेका हुन्। अन्नपूर्ण र मालिका गाउँपालिकामा कसैले पनि उम्मेदवारी फिर्ता गरेनन्। जिल्लाभर पालिका अध्यक्ष/प्रमुखमा २९, उपाध्यक्ष/उपप्रमुखमा २३, वडाध्यक्षमा १४९, सदस्यमा २७५, महिला सदस्यमा १२५ र दलित महिला सदस्यमा ११७ जनाको उम्मेदवारी कायम भएको छ।
धौलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जाको वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।