दुई दशकदेखि करोडौँ ठगी गर्दै आएका फरार व्यक्ति पक्राउ

काठमाडौँ - विगत दुई दशकदेखि देशका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानबाट करोडौँ ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ। 

ठगी मुद्दामा पक्राउ परेका ईश्वरीप्रसाद पोखरेलले २०५७ सालदेखि विभिन्न व्यक्तिलाई डर, धाक, धम्की र विभिन्न उच्च पदस्थ व्यक्तिको पहुँच देखाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ। प्रहरीले प्यूठानको झिमरुक गाउँपालिका–६ तोरवाङ बस्ने विभिन्न व्यावसायिक प्रतिष्ठानको सञ्चालक भन्दै विभिन्न व्यावसायिक प्रतिष्ठानबाट नगद तथा निर्माण सामग्रीलगायत खरिद गर्ने बहानामा करोडौँ ठगी गरेर फरार रहँदै आएका ५० वर्षीय पोखरेललाई सोमबार राति पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

पक्राउ परेका पोखरेलले दर्ता नै नरहेका भेडीगोठ बाख्रा फार्म प्रालि चित्लाङ, मकवानपुर, कामधेनु गाई फार्म प्रालि खैरेनीपुर चितवन, प्रिसा पशुपन्छी तथा कृषि फार्म प्रालि झिमरुक प्यूठान, प्रिंस कन्स्ट्रक्सन प्रालि कामपा–३२ काठमाडौँ, गौमुखी फिड इन्डष्ट्रिज कपिलवस्तुको प्रोपाइटर बताउँदै ठगी गर्दै आएको प्रनाउ भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका पोखरेललाई सोमबार राति करिब १० बजेको समयमा पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित वडा प्रहरी कार्यालय चन्द्रौटाको चेक प्वाइन्टमा बागमती प्रदेश ०१–०२६ च ४००१ नं को कार चढी आउँदै गरेको अवस्थामा विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×