काठमाडौँ - मिक्वाखोला गाउँपालिकाकी भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गरिन्। आधा उमेर गइसकेपछि मात्र उनले गाडी देख्न पाइन्।
जमानामा उनी ताप्लेजुङदेखि सुनसरीको धरानसम्म पैदल हिँडेरै पुगेको सम्झिन्छिन्। अहिले घरको आँगनबाटै दैनिक १०–१२ गाडी ओहोरदोहोर गरेको हेर्दै उनी विगतका दिन सम्झिरहन्छिन्। “खानेकुरा लिन धरानसम्म पैदल हिँडेरै पुग्थ्यौंँ तर अहिले घरघरमै आइपुग्दा अचम्म लागेको छ”, उनले भनिन्। विगतमा दुई दिन पैदल हिँडेर माइती गएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूकी बेलिता लिम्बूलाई सोमबार बिहान आफ्नो माइतीमा आमा सिकिस्त बिरामी भएको खबर भयो। उनी आफ्नो जन्म दिने आमालाई भेट्न सोमबार बिहानै घर नजिकैबाट गाडी चढिन्। दश घण्टा गाडीमा यात्रा गरेपछि उनी आफ्ना माइतीघरमा आमालाई भेट्न सिरिजङ्गा गाउँपालिका–६ मामांखे पुगिन्। पहिले त ठूलो जङ्गल र पहाड पार गर्दै जानुपर्ने भएकाले बाटामा खाजा, खाना पहिले नै तयार गरेर आफैँले बोकेर ४७ घण्टा पैदल हिँडेपछि माइती पुगिन्थ्यो।
दैनिक खाद्य सामग्री लिनका लागि वर्षमा दुई पटक सदरमुकाम फुङ्लिङ पुग्ने फक्ताङ्लुङ गाउँपालिका–६ का दावा शेर्पा पनि आजभोलि किनमेलका लागि सदरमुकाम पुग्न छाडिसकिन्। अहिले उनकै घरआँगनमा सडक पुगेको छ। दैनिक उपभोग्य वस्तु गाडीले आँगनमै पुर्याइदिन्छ।
ताप्लेजुङका नौ स्थानीय तहमा कुल ६१ वडा छन्। अहिले सबै वडा सडक सञ्जालले प्रत्यक्ष जोडिएको छ । मिक्वाखोला– ५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सिमानामा सडक प्रवेश गरेको छ। मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु लामाले वडा कार्यालयसम्म पुग्न केही समय लाग्ने भए पनि आफ्नो वडा सडकले जोडिएको बताए।
ताप्लेजुङका गाउँगाउँमा सडक विस्तार हुन थालेपछि स्थानीयहरूले दैनिकीमा ठूलो राहत महसुस गरेका छन्।