काठमाडौँ - नर्वेको महिला फुटबल टोलीका मुख्य प्रशिक्षक मार्टिन सोग्रिनले पदबाट राजीनामा दिएका छन्। आफ्नो नेतृत्वमा रहेको टोलीले महिला युरोकपको समूह चरण पार गर्न नसकेपछि उनले पद छाड्ने निर्णय गरेका हुन्।
नर्वेको फुटबल संघले मंगलबार सिग्रिन जिम्मेवारीबाट अलग भएको पुष्टि गरेको छ। उनले सन् २०१६ देखि नर्वेको प्रशिक्षण सम्हालेका थिए।
२ पटकको युरोकप विजेता नर्वेलाई यसपटक पनि उपाधि दाबेदारका रूपमा हेरिएको थियो तर टोलीको प्रदर्शन सोचेअनुरूपको भने हुन सकेन।
नर्वेले समूह ‘ए’ को पहिलो खेलमा नर्दन आयरल्याण्डमाथि ४-१ को सहज जितसहित प्रतियोगितामा सुखद सुरुवात गरे पनि दोस्रो खेलमा घरेलु टोली इंगल्याण्डसँग ८-० र समूह चरणको अन्तिम खेलमा नर्वे अस्ट्रियासँग १-० ले पराजित भएर प्रतियोगितबाट बाहिरिएको थियो।
‘नर्वेको महिला राष्ट्रिय टोलीलाई सन् २०१६ देखि अहिलेसम्म प्रशिक्षण दिए। मेरो प्रशिक्षणमा नर्वेले ३ प्रतियोगिता खेल्यो। यो टोलीसँग मेरो यात्रा विशेष रह्यो’, सिग्रिनले भनेका छन्, ‘हामीले यसपटक प्रतियोगितामा ठूलो लक्ष्य राखेका थियौ तर हाम्रो यात्रा समूह चरणमै सीमित बन्यो। त्यसैले मैले पदबाट अलग हुने निर्णय लिएको हुँ।’