शीतल निवासमा राष्ट्रपति पौडेल र नेता खनालबीच भेटवार्ता, निर्वाचन र समसामयिक राजनीतिमा छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालबीच आज शीतल निवासमा भेटवार्ता भएको छ। बिहान करिब १० बजेदेखि सुरु भएको भेटघाट करिब एक घण्टा चलेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचन र मुलुकले सामना गरिरहेका वर्तमान चुनौतीबारे विस्तृत छलफल भएको छ। निर्वाचनलाई तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक पूर्वाधार तयारी, शान्ति सुरक्षा व्यवस्थापन तथा सबै राजनीतिक दल र सरोकारवाला पक्षबीच सहमति कायम गर्ने विषयमा दुवै पक्षबीच विचार–विमर्श भएको बताइएको छ।

राष्ट्रपति पौडेलले भेटका क्रममा नेता खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उपचार प्रक्रियाबारे पनि उनले चासो व्यक्त गरेका थिए।

छलफलमा हालको सरकार बाध्यात्मक परिस्थितिमा गठन भएको र यसको प्रमुख जिम्मेवारी निर्वाचन सम्पन्न गर्नु नै भएको विषयमा जोड दिइएको थियो। निर्वाचनको कुनै विकल्प नरहेको भन्दै आवश्यक तयारी पूरा गरी समयमै चुनाव सम्पन्न गरेर मुलुकलाई नयाँ राजनीतिक निकास दिनु अपरिहार्य रहेको धारणा आदान–प्रदान भएको स्रोतले जनाएको छ।

यसैगरी, फागुन २१ गते निर्वाचन सम्पन्न गर्नुपर्ने विषयमा राष्ट्रपति पौडेल र नेता खनालबीच समान बुझाइ र सहमति रहेको पनि बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×