काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त पदमा डा अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए ।
‘राष्ट्रियसभाको रिक्त रहेको पदमा डा अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरिएको छ,’ शुक्रवार बैठकपछि शर्माले भने । शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत थिए । उनी नेकपा एमालेका तर्फबाट बाग्मती प्रदेश सभाका पूर्वसदस्य अजयक्रान्ति शाक्यका पत्नी हुन् ।
संखुवासभा घर भएका उनी नेपाल टेलिभिजनकी पूर्वसमाचार प्रस्तोता पनि हुन् । व्यवस्थापन विषयमा विद्यावारिधि (पीएचडी) गरेका शाक्यले पद्मकन्या कलेजमा २०५३ देखि करिब एक दशक प्राध्यापन गरेका थिए । साथै अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्बरको अध्यक्ष लगायतको पदमा रहेर काम गरेको अनुभव उनीसँग छ ।